काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को प्रतिनिधिसँगको भेटमा उनले विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्किन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको बताए ।
आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिए । अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने उनको भनाइ थियो । ‘अर्थतन्त्रलाई डिप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पुँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरूलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताए ।