श्रीलंका । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी सुविधाअन्तर्गतको ब्याजदर घटाएको छ । केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । बिहीबार विज्ञप्तिमार्फत निक्षेप सुविधा र कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएकोे छ ।
केन्द्रीय बैंकले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ । मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ । यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ ।
यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ । मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्न केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ ।
खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकांक सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ ।
श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लेखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको छ ।