काठमाडौं । दैनिक उपभोग्य वस्तुमा निजी क्षेत्रको एकाधिकार तोड्ने उद्देश्यले सरकारले आज आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । सरकारले करिब डेढ महिना अर्थात् असोज २१ गते आइतबारदेखि मंसिर ३ गते आइतबारसम्म काठमाडौं उपत्यकालगायत देशका केही सहरमा यस्तो बजार सञ्चालन गर्नेछ ।
सरकारले वर्षेनी दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियतपूर्ण बजार सञ्चालन गर्दै आएको छ । सोही सिलसिलामा यसवर्ष पनि त्यस्तो सहुलियतपूर्ण बजार सञ्चालन गर्न लागेको हो ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । यस्तो बजारमा अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।
सरकारी निकायले सञ्चालन गर्ने यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभरूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । बजारमा चाडपर्वमा चिनी, तेल, मसलालगायतका वस्तुमा निजी क्षेत्रले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेर आम सर्वसाधारण उपभोक्तालाई ठग्ने प्रवृति धेरै हुनेगरेको कारण सरकारले त्यसलाई रोक्न सहुलियतपूर्ण बजार सञ्चालन गर्नेगरेको छ । यद्यपि आम उपभोक्ताले भने सरकारले सबै महिना यस्तो सहुलियतपूर्ण बजार सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । ती कम्पनीका काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण बताइएको छ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुने बताइएको छ ।
यसैगरी, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । कम्पनीले सञ्चालनमा ल्याएका बिक्रीकक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेकाबिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।
खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ मा बिक्री गर्नेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने राससले पनि आफ्नो समाचारमा उल्लेख गरेको छ ।