काठमाडौं । २०८० साल असार ११ गते बिहान आर्थिक दैनिक बजारमा जानेबित्तिकै हङ्गामा सुरु भयो । त्यस दिनको पत्रिकामा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ भन्ने शीर्षकमा समाचार छापिएको थियो । त्यही समाचारका कारण देश/विदेश सबैतिर हङ्गामा भएको थियो । दिउँसोसम्म त समाचार थामीनसक्नु गरी भाइरल भइसकेको थियो । समाचार जसरी भाइरल भइरहेको थियो त्यसरी नै सत्यताका बारेमा विभिन्न व्यक्तिहरूले फोन गरिरहेका थिए । तिनै व्यक्तिमध्येको एक थियो, कुहिएको आलुको टुसो । एउटा कुहिएको आलुले बोराका सबै आलुलाई सडाइदिन्छ भन्छन् ।
त्यस्तै आलुमा टुसो पलायो भनेर रोप्दैमा त्यसबाट आलु उब्जँदैन, त्यो आलु कुहिन्छ टुसो मेरेर जान्छ । म ताम्सीपाखामा पीएल दाइको निवासमा थिएँ । फोनको घण्टी बज्यो, उठाएँ । उसले आफूलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयबाट भनेर परिचय दियो र समाचारका बारेमा बुझ्नुपरेकाले बालुवाटार विशालनगरतिर भेट्न आउन आदेश थियो । मैले समाचार जे छापियो त्यही हो, थप समाचार अर्को अंकमा आउँछ तर यो समाचार यस्तो उस्तो हो भनेर तपाईँलाई ब्रिफिङ दिन आउन सक्दिनँ तर समाचारका बारेमा कुरा गर्न पत्रिकाको कार्यालयमा आउन कसैलाई पनि अवज्ञा गर्दिनँ भनेर फोन काटिदिएँ । त्यसरी फोन गर्ने व्यक्ति केही दिनपछि गठन भएको तरुण दलको केन्द्रीय समितिको सदस्यमा मनोनीत भएका थिए ।
उनी देउवाको स्वकीय सचिवालयमा भए/नभएको बुझ्दा त्यस्तो नाम गरेको सरकारी वा गैरसरकारी व्यक्ति कोही पनि नभएको थाहा लाग्यो । देउवाको सचिवालयबाट मेरो बारेमा सोधीखोजी भएको भए भानु देउवाले पक्कै फोन गर्ने थिए भन्ने मेरो विश्वास थियो, त्यही भएर पनि मैले फोन गर्ने त्यो व्यक्तिलाई त्यति महत्व दिन आवश्यक ठानिनँ । तरुण दलको केन्द्रीय समिति गठन भएपछि थाहा लाग्यो कि फोन गर्ने ती व्यक्ति भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका छोरा सरिन घिमिरे रहेछन् । शर्मा नेपालको प्रजातान्त्रिक आन्दोलनमा कहीँकत्तै नजोडिए पनि २०५५ सालमा देउवा प्रधानमन्त्री बनेपछि सधैँ शक्तिमा रहन पाउने रहस्यमय भाग्यमानी व्यक्ति हुन् ।
ताम्सीपाखाबाट म निस्कँदासम्म समाचार सर्वव्यापी बनिसकेको थियो र कार्यालय पुगेको केही समयपछि प्रेस काउन्सिल नेपालबाट पत्र आयो । माननीय डा. आरजु राणा देउवाका स्वकीय सचिव कमल रावलले भ्रामक समाचार प्रकाशन गर्ने पत्रिकालाई कारबाही गरीपाऊँ भनी प्रेस काउन्सिलमा हालेको उजुरी थियो त्यो ।
उक्त उजुरीमा लेखिएको थियो, ‘उपरोक्त सम्बन्धमा मिति २०८० असार ११ गतेको आर्थिक दैनिक पत्रिकाको प्रथम पृष्ठमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन भन्ने समाचार तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले नियोजितरुपमा प्रकाशन गरिएको उक्त दैनिकका प्रकाशक प्रल्हाद रिजाल, सम्पादक रामप्रसाद पुडासैनी र उक्त आर्थिक दैनिक पत्रिकालाई प्रेस काउन्सिल ऐनअनुसार हदैसम्मको कारबाही गरीपाऊँ भनी निवेदन गर्दछु ।’
उक्त पत्रमा समाचार खण्डनको माग गरिएको छैन र सोझै कारबाहीको माग गरिएको छ । कारबाहीको माग गर्ने व्यक्ति कमल रावलाई उक्त उजुरी गर्न डा. आरजुले अख्तियारी दिएको पनि उल्लेख गरिएको छैन । उजुरीमा सत्ता र शक्तिको दम्भ मात्र देखिएको छ । छापिएको समाचारमा चित्त नबुझे त्यही मिडियामा समाचार खण्डन गर्ने प्रावधान परिपाटी छ ।
विश्वव्यापी मान्यता पनि यही हो । उक्त मिडियाले खण्डन नछापेमा काउन्सिलमा उजुरी गर्नुपर्ने हो । तर, यहाँ यो नियम परम्परा र विश्वव्यापी मान्यतालाई वास्ता गरिएन र सत्ता र शक्तिको उन्माद देखाएर पत्रिकामा खण्डन नै नपठाई सोझै कारबाहीका लागि काउन्सिलमा उजुरी गरियो ।
त्यसरी उजुरी गर्ने उजुरीकर्तालाई समाचारले के क्षति पु-याएको हो त्यो खुलाउनुपर्ने हो, तर त्यो पनि खुलाइएन । जसका बारेमा समाचार छापिएको हो, सो व्यक्ति यहीँ हुँदाहुँदै हुकुमी शैलीमा अर्दली लगाएर उजुरी गर्न लगाइयो । भूतपूर्व प्रधानमन्त्रीको घरपरिवारबाट नै यसरी नियमकानुन र प्रजातान्त्रिक प्रक्रियाको बेवास्ता गरिन्छ भने अरुले त्यसलाई कसरी पालना गर्लान् र ?
त्यो समाचार सत्य थियो भन्ने कुरा अहिले जगजाहेर भइसकेको छ । एआईजी श्यामलाल ज्ञवाली र उनका सहयोगी एसएसपी मनोज केसीको पदस्थापन भएको पाँच महिना हुन नपाउँदै भएको सरुवाले त्यसलाई थप पुष्टि गरेको छ । तर, समाचार छापिएको दिन माननीय आरजु नेपालमै रहेको र त्यसै साँझ जापान प्रस्थान गरेको देखिन्छ ।
उनी जापानतर्फ उडेपछि नेपाल प्रहरीका आईजीपी बसन्त कुवरले पूर्वप्रधानमन्त्री समेत रहेका आरजुका पति शेरबहादुर देउवालाई उक्त समाचारका बारेमा ब्रिफिङ गरेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार एआईजी श्यामलाल ज्ञवलीलाई बोलाएर डा. आरजु राणा देउवा र पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न आदेश दिएको र एआईजी ज्ञवालीले शनिबार अपराह्न ४ बजे आफ्नो कार्यालयमा बोलाएर मातहतको प्रहरी नेतृत्वलाई उनीहरूलाई यथाशीघ्र पक्राउ गर्न निर्देशन दिएको समाचार सत्य रहेको ब्रिफिङ गरेका थिए ।
एआईजी ज्ञवालीले गृहमन्त्री श्रेष्ठलाई हिरासतमा रहेका आफ्ना नातेदार समेत रहेका टेकनारायण पाण्डेले डा. आरजुलाई रकम दिएको भनी पौडेलको भिडियो क्लिप देखाएको कुरा पनि सार्वजनिक भइसकेको छ । हिरासतमा रहेको व्यक्तिको मोबाइलमा भएको अडियो क्लिप पनि ज्ञवालीले सहयोगी मनोज केसीमार्फत सार्वजनिक गराएको कुरा पनि गाइँगुइँ चलिरहेको थियो ।
यस्ता थरीथरीका बजार हल्ला चलिरहेको बेला आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । त्यो समाचार असत्य बनाउन गृह प्रशासनले कुनै कसुर बाँकी राखेन तर समाचार सत्य थियो र त्यसको सत्यता पुष्टि भइसकेको छ ।
त्यो समाचार बेलैमा त्यसरी सार्वजनिक नभएको भए एउटा धोबीले सीताको पवित्रतामाथि प्रश्न उठाउँदा रामचन्द्रले सीता परित्याग गरेको र फेरि सिंहासनमा फर्कन समय ग्रहण गर्न आयोजना गरेको भारदारी सभामा सीताले पुत्रहरू लवकुशलाई गुरु वाल्मीकीमार्फत रामचन्द्रलाई सुम्पिएर आफू पृथ्वीमाताको गोद लिएर जमिनभित्र अलप हुनुपरेको थियो । अहिले डा. आरजुको सन्दर्भमा त्यही समाचारका कारण त्यस्तो घटनाको पुनरावृत्ति हुन पाएन । अन्यथा त्यो समाचार बेलैमा सार्वजनिक नभएको भए अहिले देउवापत्नी आरजु कुन अवस्थामा हुनेथिइन् त्यो जो–कसैले सहजै अनुमान गर्न सक्दछ ।
तर, त्यस्तो भयङ्कर घटना दुर्घटनाको सम्बन्धमा एक पटक उच्च ओहोदामा आसीन परिवारको सदस्यबाट त्यस्तो गलत र कमजोर विश्लेषण हुनु र घटनाको सत्यतथ्य बाहिर आइसक्दा पनि त्यसप्रति आफूले गरेको गल्तीको महसुससहित पश्चात्ताप नहुनुले उनमा सत्ता उन्माद सवार भएको स्पष्ट देखिन्छ, त्यसले राम्रो मार्ग लिन पक्कै सहयोग गर्दैन ।
