काठमाडौं। इजरायलमा रहेका नेपालीको अवस्थाप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले चासो व्यक्त गरेका छन् । शनिबार इजरायली सेना र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भीडन्त भएपछि त्यहाँ रहेका नेपालीको अवस्थाप्रति मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी श्रेष्ठले आइतवार फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनीहरु र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।
घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भैरहेको नेपाली राजदूत रिजालले बताए । त्यस्तै नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने इजरायली राजदूत गदरले बताए ।