काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित साताजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
विशेष अदालत, काठमाडौंमा आइतबार दायर मुद्दामा उनीहरूबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग समेत गरिएको छ ।
अख्तियारले सार्वजनिक सम्पत्ति भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री कुमारसहित सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेको हो ।
यसैगरी तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रूपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।
तर, तत्कालीन आर्थिक मामिलामन्त्री कुमार र लालबन्दी नगरपालिकाका प्रमुख खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानून विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको अख्तियारको ठहर छ ।