काठमाडौँ । जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
आइतबार नेपाल–चीनमैत्री मञ्चले बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा यहाँ आयोजना गरेको ‘बिआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताए । उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे ।
बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहेको प्रधानमन्त्री दाहालले बताए । उनले भने, “बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएकोमा प्रश्नहरू यदाकदा सुनिने गरेका छन् । यसका लागि कोभिड महामारी, हाम्रो प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन् । तर, नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहन्छ ।”
प्रधानमन्त्री दाहालले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइप्रति आफ्नो पूर्ण सहमति रहेको जनाउँदै उक्त विषय आफूले पनि केही दशकदेखि दृढतापूर्वक भन्दै आएको बताए । “अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ”, उनले भने, “तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं । चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ ।”
विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुवै भएको दाहालले बताए । उनले नेपाल चीनको यो द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई)बाट पूरा गर्न चाहेको उल्लेख गरे ।
नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै आवश्यकता पूरा हुनसक्ने परिस्थिति नरहेको उनले बताए । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो रहेकोको सन्दर्भमा बिआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुने उनको भनाइ छ ।
विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावर्जनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन नसकेको दाहालले बताए । उनले अब छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको बताए । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन उनले भने ।
नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याएको मूल्यवान सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण रहेको विश्वास व्यक्त गरे ।
नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनियाँ पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुपर्छ दाहालले भने ।
विगतमा आफू सरकारको नेत्तृवमा रहँदा र चिनियाँ राष्ट्रपति सी चीनफिङको सन् २०१९ मा भएको नेपाल भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धिलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए ।
चीनले अघि सारेको बिआरआईले २१औँ शताब्दीमा पूर्वाधार र आर्थिक विकास परियोजनाको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सारेको विभिन्न भूगोल, संस्कृति र सभ्यताबीच सम्पर्क सञ्जालको विस्तार गरी लाभ–लाभको सिद्धान्तमा आधारित समावेशी विकासको बृहत अवधारणा बिआरआइ) का बहुआयमिक पक्षबारे सही जानकारी सम्प्रेषण गर्न कार्यक्रमले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।
हालै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ्गसँग द्विपक्षीय हित तथा चासोका सबै विषयमा वार्ता, छलफल र कुराकानी भएको प्रधानमन्त्री दाहालले बताए । मेरो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा दाहालले विश्वास व्यक्त गरे ।