काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको छ । नेपालमा पहिलो पटक सुरु गरिएको पारिवारिक इजलासको उद्घाटन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज(सोमबार) उद्घाटन गरेका हुन् ।
श्रेष्ठले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए । महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना उनले प्रस्तुत गरेका थिए । सोही अनुसार महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो ।
पारिवारिक विवादसम्बन्धी मुद्दाहरुको सुनुवाई सहज र छिटो छरितो बनाउन पारिवारिक प्रकृतिका विवाद सुन्ने यस्तो इजलासको व्यवस्था ललितपुर र भक्तपुर जिल्ला अदालतमा पनि गर्ने तयारी गरिएको छ ।