काठमाडौं । इजरायल र गाजाबीच शनिबारदेखि जारी युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी रहेकाले यतिबेला नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गरिराखे पनि अहिलेसम्म उद्धार हुन सकेको छैन ।
युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी(अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारी)ले उद्धारको अपिल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई पत्र लेखेका छन् । उनले पत्रमार्फत नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस, हामी देशमा नै रमाउने छौं’, भन्दै तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।
इजरायलमा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरु छन् । मृत्यु भएका १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो तर युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल, भारतलगायत अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ ।
उद्धारको लागि इजरायलस्थित दूतावासमा पटक–पटक फोन गरेको तर उताबाट लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको गिरीको भनाई छ । बंकरभित्र बसेपनि बाहिर गोली चलेको, बम पड्किएको आवाज आइरहेकोले गर्दा कति बेला के हुन्छ भन्ने डरैडरमा बस्नु परिरहेको उनको भनाई छ ।