काठमाडौं । अक्टोबर ७ अर्थात् असोज २२ गते शनिबार बिहान इजरायलमाथि प्यालेस्टाइनी हमास विद्रोहीले अप्रत्याशित आक्रमण गरे । आक्रमण मात्र होइन हमास विद्रोहीले कतिपयलाई बन्धक पनि बनाए । मारिने इजरायली मात्र थिएनन् नेपाल, अमेरिकालगायतका देशका नागरिक पनि छन् । इजरायलमा विभिन्न देशका नागरिकको बसोबास छ ।
इजरायलमाथि भएको हमास आक्रमणमा फसेका कयौँ देशले आफ्ना नागरिकको उद्धार गरिसकेको छ । तर, नेपालले भने आक्रमण भएको तेस्रो दिन बित्दा समेत इजरायलयमा कति नेपाली मारिए, कति घाइते छन्, कति बन्धक छन्, कति बेपत्ता छन् भन्ने वास्तविकता सार्वजनिक गर्न सकेको छैन ।
इजरायलमा युद्ध सुरु भएको तीन दिन बित्दा पनि आफ्ना नागरिकको उद्धार कसरी गर्ने भन्ने ठोस योजना नेपाल सरकारले बनाउन सकेको छैन । अध्ययन वा कामकाजका लागि कति नेपाली इजरायलमा छन् त्यसको पनि जानकारी नेपाल सरकारसँग छैन । यद्यपि १० जना नेपाली युवाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ र एक जना बेपत्ता भएको जानकारी आएको बताएको छ । ठूलो संख्यामा नेपाली इजरायलमा भए पनि ती सबैको कसरी उद्धार गर्ने योजना बनाउँदैमा सरकारले दिनहरू कटाइरहेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार साँझसम्म इजरायल युद्धमा एक हजार एक सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । इजरायल स्थापनादेखि नै युद्धग्रस्त मुलुक हो । पछिल्ला वर्षहरू तुलनात्मकरूपमा शान्त देखिए पनि शनिबार बिहानको घटनाले इजरायल अनन्तः युद्धमा छ भन्ने पुष्टि गरेको छ । यस्तो देशमा अध्ययन र कामका लागि झण्डै पाँच हजार नेपाली रहेको आशंका गरिएको छ । तर, सरकार ती नागरिकलाई कसरी उद्धार गर्ने भन्नेमा अन्यौलमा देखिन्छ ।
इजरायल युद्धले नेपालको रेमिट्यान्समा असर गर्ने मात्र होइन महंगी पनि बढ्ने देखिएको छ । यो युद्धको असर रुस–युक्रेन युद्धको भन्दा पनि ठूलो हुने आशंका छ । नेपालीहरूको रोजगारी युक्रेनमा नगन्य छ तर इजरायल भने नेपालको आकर्षक श्रम गन्तव्य हो । नेपाल सरकारले रोजगारी दिन नसकेपछि दलालहरूलाई दशौँ लाख रुपैयाँ दिएर इजरायल कामका लागि जाने युवाको संख्या धेरै छ । कृषि र घरेलु कामदारका रूपमा नेपालीहरूले इजरायलमा दशकौँ अगाडिदेखि काम गर्दै आफ्नो गरिबी घटाउँदै आएका छन् । इजरायलसँग छ दशकभन्दा बढी समयदेखि दौत्य सम्बन्ध बनाएको मुलुक नेपालले त्यहाँ आफ्ना नागरिकको उद्धारका लागि ठोस कुराकानी नै गर्न सकेको छैन । यसले नेपालको कूटनीति अति कमजोर छ भन्ने देखाएको छ ।
इजरायल युद्धको कारण नेपाल दोहोरो÷तेहोरो आर्थिक मारमा पर्ने देखिन्छ । युद्धको कारण इजरायलमा नयाँ रोजगारी बन्द भएको छ । इजरायलमा रहेकाहरूहरूको पनि रोजगारी बन्द हुँदा नेपालीको आम्दानी घट्छ भने नेपालमा आउने इजरायली पर्यटकको कमी पनि आउँछ । त्यस्तै, पेट्रोलियम पदार्थलगायतका वस्तुहरूको मूल्यवृद्धि हुनेछ । नेपाल सरकारले ती समस्याको प्रतिरोध कसरी गर्ने भन्ने योजना त के सोच्न पनि भ्याएको छैन । नेपाल सरकारले सोमबार रातिसम्म एक जना नागरिकको पनि उद्धार गर्न सकेको छैन । यसले देखाउँछ नेपालको कूटनीति नाजुक छ भन्ने ।
इजरायलमा रहेका कुनै पनि आफ्ना नागरिकलाई सहयोग र उद्धार गर्न नसकेको नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युद्धमा मृत्यु भएका १० नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । उक्त रकम गृह मन्त्रालयले अर्थसँग समन्वय गरेर दिने बताइएको छ । त्यस्तै, इजरायलमा फसेका नेपालीहरूको उद्धारको लागि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको विमान चार्टर गर्ने भनेको छ तर त्यसका लागि नेपाल सरकारलाई इजरायलले सहमति नै दिएको छैन । नेपाली कूटनीतिज्ञहरूले तीन दिन बित्दासमेत इजरायलमा आपतमा परेका नेपालीहरूलाई उद्धार गर्न इजरायललाई सहमत गराउन सकेको छैन । कुन–कुन ठाउँमा नेपाली छन् त्यो पनि नेपाली कूटनीतिज्ञलाई वास्तविक जानकारी नै नभएको देखिन्छ । नेपाली दूतावासले युद्धमा फसेका नेपालीहरूलाई सम्पर्कमा आउन भने पनि नेपालीहरूले सम्पर्क नै गर्न सकेका छैनन् । यसले नेपालीहरू कति मारिए ? कति बन्धक वा बेपत्ता छन् भन्नेमा सरकार पूर्णतः बेखबर नै देखिन्छ । जोखिमयुक्त ठाउँमा रहेका नेपालीहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको मन्त्रिपरिषद्ले निर्णय गरे पनि स्थानान्तरण गरिएकाहरूको संख्या नै सार्वजनिक हुन सकेको छैन । त्यस्तै, बेपत्ता भएका नेपालीहरूको यथाशीघ्र खोजी गर्ने भने पनि कति नागरिक पत्ता लगाइयो भन्ने नेपाल सरकारसँग विवरण नै छैन ।
इजरायलको युद्धग्रस्त क्षेत्र सेदोतमा रहेका नेपाली विद्यार्थीहरूले तत्काल उद्धार गर्न आग्रह गरे पनि सरकारले भने विमानमा भरिने यात्रुहरू भएपछि मात्र उद्धार गर्ने भनेर इजरायलस्थित दूतावासमार्फत विवरण संकलन गरिरहेको छ ।
जनही दुई लाख : सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।
इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेका छन् ।
यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दैै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्कन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गरेका छन् ।