काठमाडौं । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।
झापास्थित हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए ।
हल्दिबारी वडा नं.१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको थियो । पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।