काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका छन् । इजरायलमा केयर गिभरमा चार हजार पाँच सय जना नेपाली छन् भने दुई सय ६५ जना विद्यार्थी रहेका छन्, जसमा १० विद्यार्थीको आक्रमणमा परि मृत्यु भएको छ ।
हमासले इजरायलमाथि आक्रमण गर्दा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन पहल भइरहेको मन्त्री साउदले जानकारी गराए । मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । साथै, मृतकको सम्मानमा सरकारले आज(मंगलबार) स्वदेश र विदेशस्थित कूटनीतिक नियोगहरूमा झण्डा आधा झुकाइएको छ ।
त्यस्तै, इजरायलमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विश्वविद्यालयका २३ जना गरी कूल ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । सरकारले नेपाल आउन चाहने इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ ।