काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्था ३१ औँ वर्षमा प्रवेश गरेको छ । जिल्लाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको यस सहकारीले सोमबार स्थापना दिवसको अवसरमा संस्थाको उपलब्धि तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
सहकारीका अध्यक्ष अध्यक्ष हेमन्त चौलागाईंले केही सहकारीका सञ्चालकका बदमासीका कारणले पछिल्लो समय सहकारी क्षेत्र नै बदनाम भएकोमा चिन्ता व्यक्त गरे । जिल्ला सहकारी संघ दोलखाका समेत अध्यक्ष रहेका उनले हालसम्म दोलखाका सहकारीमा खासै समस्या नदेखिएको बताए ।
कार्यक्रममा बाग्मती सहकारी संघका महासचिव एवम् सहकारीका पूर्व अध्यक्ष भीमप्रसाद दाहालले दोलखा सहकारी संस्थाहरुको उर्वर भूमि रहेको उल्लेख गर्दै सहकारीलाई वित्तीय गुणस्तरमा ध्यान दिन आग्रह गरे । संस्था व्यवस्थापक नवराज दहालले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेका थिए । उनका अनुसार संस्थाको सेयर पुँजी १६ करोड ५८ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।