काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा पहल थाल्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज(मंगलबार) बिहान बसेको पदाधिकारी बैठकमा कोशी सरकारबारे पनि भएको छलफलमा देउवाले पुनःकांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका हुन् ।
उनले गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट्ने बताइएको छ भने आजै प्रधानमन्त्रीले कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेस कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई सरकारमा सामेल गराउने कोशिशमा छ ।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुखले समय दिएका हुन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापा र एमाले संसदीय दलका नेता हिक्मत कार्की दुई–दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन् । बहुमत पुर्याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ ।