काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनसम्म लगाइएको कफ्र्यु र निषेधाज्ञा आज (मंगलबार)देखि हटेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर क्षेत्रीका अनुसार असोज १६ गते दिउँसो १ बजेदेखि लगाइँदै आएको कर्फ्यू र त्यसपछि लगाइएको निषेधाज्ञा आज बिहान ४ बजेदेखि पूर्णरुपमा हटेको हो । राति कफ्र्यु र दिनमा निषेधाज्ञा लगाउँदै आएको नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो । स्थानीय प्रशासनले नेपालगञ्जको पूर्वमा राप्ति नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएको थियो ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्ट्याटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो । जसको कारणले गर्दा कर्फ्यू र निषेधाज्ञा गनुपर्ने वाध्यता भएको थियो ।