काठमाडौं, वैशाख २६
नेपाल राष्ट्र बैंकसमक्ष सुनचाँदी व्यवसायीहरू कोरोना भाइरस (कोभिड १९) का कारणले व्यवसायमा परेको प्रभाव बारेमा सुझाव पेस गरेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठसहितको टोलीले बुुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उनकै कार्यकक्षमा भेट गरी कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असरबारे छलफल गरेको हो ।
छलफलका क्रममा लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न रीणको सावा, ब्याज, किस्ता आदिको साथै उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नुपर्ने तात्कालीन एवं दीर्घकालीन उपाय बारे लिखित सुझाव पनि पेस गरेको छ । आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पु¥याउनसक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा प्रतिनिधि मण्डलले जोड दियो । सो अवसरमा गभर्नरले महासंघहरूबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन् ।