कञ्चनपुर । भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी सुदूरपश्चिम प्रदेशमा भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
कञ्चनपुरमा ९०, डोटीमा ८९, दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । साथै केही बिरामी उपचारपछि निको भइसकेका छन् ।
स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उनले बताए । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ ।
गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उनले बताए । उनका अनुसार मुसामा लाग्ने किर्ना जस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
किर्नाको टोकाइबाट बच्न घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भूइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने वा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने उनले सुझाव दिए । विशेष गरी स्क्रब टाइफसको सङ्क्रमण असार महिनादेखि असोज महिनासम्म बढी देखिने गरेको छ ।