काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुल महारासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेका अनुसार आज(बुधबार) काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार राहुलसहित चार जनालाई प्रतिवादी बनाइएको बताए । राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र नीमा गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ ।
दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्। गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीहरुविरुद्ध भन्सार चोरी निकासीको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
यसअघि नै यो प्रकरणमा सीआईबीले विमानस्थल भन्सारका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उनीहरु पुर्पक्षमा अहिले कारागारमा छन् ।