काठमाडौं । कृषि प्रयोजनको लागि प्रयोग भएको बिजुलीका कारण सर्लाही र बर्दियामा गरी दुई व्यक्तिको मृत्यु भएको छ । करेन्टबाट सर्लाहीका ४५ वर्षीय शिवजी साह र बर्दियाका ४० वर्षीय महाबली थारुको क्रमशःखेतमा जनावर मार्न लगाएको नाङ्गो तारबाट र माछा पोखरीमा मोटरबाट पानी हाल्ने क्रममा मृत्यु भएको हो ।
सर्लाही, बरहथवा नगरपालिका–१४ बिनवा टोल बस्ने शिवजी साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतको वरिपरि जनावर मार्नको लागि लगाएको नाङगो तारमा छोई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, बासगढी नगरपालिका–३ लखना बस्ने महाबली थारुको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो । आफ्नै माछा पोखरीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।