सुरेश राउत
काठमाडौं, वैशाख २८
वैशाख २८ गते अर्थात् आज आइतबारबाट बैंक तथा फाइनान्स कम्पनीहरुले एक तिहाइ मात्र कर्र्मचारीहरुको उपस्थितिमा आफ्नो नियमित सेवा उपलब्ध गराउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक तिहाइ मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउन निर्देशन दिएपछि बैंकहरुले यस्तो सुविधा पाएका हुुन् ।
सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुुसार कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि हालको अवस्थामा एक तिहाइ मात्र कर्मचारीहरु राखेर सेवा उपलब्ध गराउनुपर्ने भएपछि राष्ट बैंकले सोहीअनुुसार गर्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले शुुक्रबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दै सोहीअनुरुपको व्यवस्था मिलाउन निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार यसरी सेवा प्रवाह गर्दा कुुल सवारी संख्याको एक चौथाइलाई मात्र पास उपलब्ध गराउने व्यवस्था गर्नुुपर्नेछ ।
सेवा उपलब्ध गराउँदा कर्मचारीमा हुुनसक्ने संक्रमण तथा संस्थाको बिजनेस कम्युनिटीलाई मध्यनजर गर्दे यथासम्भव एक तिहाइ कर्मचारीहरुबाट सेवा सुचारु गर्नुुपर्नेछ । यसको लागि रिमोट एक्सिस, वर्क फर्म होम, सिफ्ट वाइज वर्क आदिको व्यवस्था गर्नुुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ सेवा प्रवाहमा प्रत्यक्षरुपमा सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्नको लागि आवश्यक सुरक्षाका न्यूनतम उपायहरु स्यानिटाइजर, मास्क, डिस–इन्फेक्सन, थर्मल स्क्यानिङ र ह्याण्ड ग्लोभ्सको अनिवार्य प्रयोग गर्नुुपर्नेछ । सेवाग्राहीको भीडभाड नहुुने सुनिश्चिता प्रदान गर्ने, विद्युतीय माध्यमबाट हुुने कारोबारलाई थप प्रोत्साहित गर्ने व्यवस्था गर्नुुपर्नेछ ।
बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारीसाधनको हकमा कुुल सवारीसाधनको बढीमा २५ प्रतिशत सवारीसाधन बैंकको प्रधान कार्यालयले सवारी नम्बर, सवारी उपयोग गर्र्नेको नाम जान आउनुुपर्ने स्थान तथा समय समेत तोकेर पत्र उपलब्ध गराउनुुपर्ने परिपत्रमा उल्लेख छ ।
वार्षिक नौ प्रतिशत ब्याजमा चार अर्ब रुपैयाँको बचतपत्र बिक्री गर्ने : काठमाडौं, वैशाख २७ । नेपाल राष्ट्र बैंकले सर्वसाधारण नागरिकलाई लक्षित गरी बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकका अनुुसार नेपाली नागरिकले मात्र खरिद गर्न पाउने गरी वार्षिक नौ प्रतिशत ब्याजदर कायम रहने गरी नागरिक बचतपत्र २०८२ को बिक्री खुल्ला गर्न लागेको हो ।
यही जेठ १ गतेबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जेठ १ गते अर्थात् बिहीबारदेखि जेठ २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिति २०७७ जेठ २५ गते र सावाँ भुक्तानी मिति २०८२ जेठ २५ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक अर्धवार्षिक रुपमा हुुनेछ ।
राष्ट्र बैंकका अनुसार बचतपत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरेको ऋणपत्र धितो राखेर कुुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका कर्जा लिन र दिने समेत पाइनेछ ।