काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते पदबाट राजीनामा दिएसँगै त्यहाँ सरकार बनाउने समायावधि आगामी शुक्रबारसम्म रहेको छ । गठबन्धनलाई राप्रपाको समर्थनबिना बहुमत नपुग्ने भएकाले र कोशीमा स्थायी सरकार गठन हुन नसकेको अवस्थामा राप्रपाले गठबन्धनलाई समर्थन गर्ने/नगर्ने निर्णय शुक्रबारकै दिने गर्ने भएको छ ।
सोही विषयलाई लिएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जनाए । उनका अनुसार कोशी प्रदेश सरकार गठनबारे छलफल गरी आवश्यक निर्णय लिन उक्त दिन बैठक बोलाइएको हो ।
राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो । उता, ६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन् । यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापा र एमाले संसदीय दलका नेता हिक्मत कार्की दुई–दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन् । बहुमत पुर्याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ ।