काठमाडौं । नेपाल वायुसेवा निगमको विमान नेपाली विद्यार्थी ल्याउन इजरायलतर्फ उडेको छ । आज(बिहीबार) बिहान ४ बजे उडेको २७४ यात्रु क्षमताको वाइडबडी विमानमा २५४ जना विद्यार्थी फर्कने भएका हुन् । जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ ।
उक्त जहाज नेपाली विद्यार्थी लिएर आज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालका अनुसार इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने भएको हो । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने प्रवक्ता लम्सालले जानकारी दिइन्। युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने उनले बताइन् ।
गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए ।सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फारम भरेका छन् ।