काठमाडौं । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा अघि सार्ने सत्तारुढ गठबन्धनको निर्णयविरुद्ध कांग्रेस प्रदेशका केही सांसदहरु असन्तुष्ट भएका छन् । आङ्बोलाई मुख्यमन्त्री दिने निर्णयमा शेखर कोइराला समूहका नौ जना सांसदहरू असन्तुष्ट देखिएका हुन् ।
गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । स्रोतका अनुसार प्रदेशमा शेखर कोइराला पक्षका सांसदहरु केदार कार्की, शमशेर राई, गोविन्द गिरी, लीला राई, रामकुमार खत्री, गयानन्द मण्डल, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिता गुरुङ गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारीमा छन् । उनीहरु प्रदेशमा कांग्रेसको नेतृत्वमा शेखर कोइराला समूहको एक जना मुख्यमन्त्री हुनुपर्ने अडानमा छन् ।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न यही शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० मा पदबाट राजीनामा दिएका थिए ।
कोशी प्रदेशसभा ९३ सदस्यीय छन् । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् । संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका गरी ४७ जना छन् । यहाँ सभामुख पद रिक्त छ । त्यसैले ६ सांसद भएको राप्रपासँग सत्ता गठबन्धनले साथ खोजेको छ । हालसम्म तटस्थ देखिएको राप्रपाले कोशी सरकारबारे भोलि(शुक्रबार)नै निर्णय गर्ने जनाइसकेको छ ।