काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय–सुझाव माग गरेको छ ।
आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’को मस्यौदा तयार गरी सुझाव माग गरेको हो । सुझाव संकलनको लागि आयोगले तयार भएको मस्यौदालाई बिहीबार आफ्नो वेबसाइटमा समावेश गरेको छ । मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरेको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।
विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदामा गरिएको छ । यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको छ । मस्यौदामा रहेका उक्त व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधारका लागि सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ तथा अन्य सरोकारवालाले आउँदो कात्तिक मसान्तभित्र आयोगमा राय–सुझाव उपलब्ध गराउन सक्नेछन् ।