काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज(आइतबार) दिउँसो २ बजे कार्कीले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमाले कोशी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आफूहरूकै समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री भएकाले आफूहरू स्वाभाविक रूपमा सरकारमा सहभागी हुने बताए । उनका अनुसार सरकारमा कसलाई पठाउने भन्नेबारे मुख्यमन्त्री कार्कीसँग हिजो सामान्य छलफल भएको र आज उनी काठमाडौंबाट फर्किएपछि थप छलफल गरेर निर्णय गर्ने बताए ।
कार्की कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार नै एमालेसँग भएको छलफलमा एक/एक जना मन्त्री बनाउने सहमति भएको बुझिएको छ ।