काठमाडौं । नेपालमा घुम्न आउने पर्यटकहरुले पर्यटकीय सेवा उपभोग गरेबापत भुक्तानी गर्नुपर्ने रकम नगदमा नै भुक्तानी गर्नेगरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको धनगढी प्रदेशले गरेको सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्ययन प्रतिवेदनअनुसार धार्मिकस्थलवरपर रहेका होटलले सेवा प्रदान गरेबापत प्राप्त गर्ने भुक्तानीको ३८ दशमलव ३ प्रतिशत भुक्तानी नगदमा नै हुनेगरेको छ ।
प्रतिवेदनअनुसार २७ दशमलव ६६ प्रतिशत भुक्तानी भने ‘क्यूआर कोड’को माध्यमबाट हुनेगरेको छ । यसबाहेक १२ दशमलव ७७ प्रतिशत भुक्तानी इन्टरनेट बैंकिङबाट तथा बाँकी भुक्तानी कार्ड र डिजिटल वालेटबाट हुनेगरेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी होटलहरुमध्ये ४२ प्रतिशत होटलहरु केवल सुविधा विस्तार गर्ने र ३९ प्रतिशत होटलहरु क्षमता विस्तार गर्ने योजनामा रहेको देखिन्छ । १५ प्रतिशत होटलहरु भने अहिलेकै अवस्थामा सञ्चालन गर्ने योजनामा रहेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी चार प्रतिशत व्यवसायीले होटल व्यवसाय बन्द गर्ने योजना बनाएका छन् ।
राष्ट्र बैंकले समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको विकास, मुद्राप्रदाय, मूल्य स्थिरता, कर्जाको विस्तार, शोधनान्तर तथा विदेशी विनिमयजस्ता विषयमा आफूले गरेको तथ्यांकगत विश्लेषणको जानकारी नियमितरुपले सार्वजनिकरुपमा प्रकाशन र प्रसारण गर्नेगरेको छ । यो अवस्थामा मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपछि बैंकका प्रदेशस्थित कार्यालयहरुले पनि ‘आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६ (प्रथम संशोधन २०७९ सहित)को व्यवस्थाअनुसार प्रादेशिक विषयहरुमा विशेष अध्ययन गर्नेगरेका छन् । सोहीअनुसार आर्थिक वर्ष २०७९/८० को कार्ययोजनाबमोजिम ‘सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना र चुनौतीहरु’ विषयमा विशेष अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा पहिचान भएका धार्मिक स्थलहरुमध्ये छनोटमा परेका नौवटा धार्मिकस्थलमा हुने धार्मिक पर्यटकीय गतिविधिमा संलग्न धार्मिक पर्यटक, पर्यटकस्तरीय होटलका सञ्चालक, स्थानीय तथा व्यवसायी, यातायात व्यवसायी, जनप्रतिनिधि, मन्दिर विकास/व्यवस्थापन समिति र प्रदेशमा रहेका धार्मिक पर्यटनसँग सम्बद्ध निकायहरुबाट धार्मिकस्थलमा भएका विकास तथा पूर्वाधार निर्माण, विकासका लागि गठन गरिएका विकास/व्यवस्थापन समितिहरुको भूमिका साथै, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँग सम्बन्धित प्राथमिक तथा द्वितीय तथ्यांक सूचना तथा विवरण, स्थानीयस्तरमा धार्मिक पर्यटनले पारेको प्रभाव समेत संकलन तथा विश्लेषण गरी यो प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
धार्मिकस्थलहरुको अवलोकनको क्रममा खप्तड क्षेत्रबाहेक अन्य स्थलहरुमा सडक सञ्जाल तथा यातायातका पूर्वाधार रहेको देखिन्छ । धार्मिकस्थलको भ्रमण गर्ने ४६ दशमलव ६७ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेसा नोकरी र २१ दशमलव ११ प्रतिशत पर्यटकको व्यापार रहेको पाइएको छ ।
सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुमध्ये ५४ दशमलव ४४ प्रतिशतले परिवारका सदस्यसहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ । परिवारका सदस्यबाहेक अन्य समूहगतरुपमा भ्रमण गर्ने पर्यटक २२ दशमलव २२ प्रतिशत पाइएको छ । धार्मिकस्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेरसमूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी ३६ दशमलव ६७ प्रतिशत छ ।
यस्तै ५६ देखि ६५ र ६६ देखि ७६ वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम चार दशमलव ४४ प्रतिशत छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि दुई दिन मात्रै छ । सर्वेक्षणमा सहभागी ६६ दशमलव ६७ प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ ।
सर्वेक्षणले धार्मिकस्थल भ्रमणमा पर्यटकले औसतमा १६ हजार पाँच सय ६७ रुपैयाँ खर्च गरेको देखिन्छ । जसमा आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४६ प्रतिशत खर्च भएको देखिएको छ । यस्तै होटलमा खान तथा बस्न र पूजा सामग्री, उपहार खर्चका लागि क्रमशः २६ प्रतिशत, १६ प्रतिशत र छ प्रतिशत खर्च भएको देखिएको छ । यसबाहेक छ प्रतिशत अन्य कुराहरुमा खर्च गर्ने गरेका छन् । सर्वेक्षणमा सहभागी होटलहरुको मासिक औसत अकुपेन्सी ४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।