काठमाडौँ । नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री महतले सञ्चारकर्मीसँग कुरा गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताएका हुन् ।
चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आईएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ । तर अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारे ।
सहुलियतपूर्ण कर्जाका लागि विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ । नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिनसक्ने पनि अर्थतन्त्री महतले बताए ।