चितवन । पश्चिम चितवनको शारदानगरमा आइतबार तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । दाहालले भने, “देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।”
सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए । वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो ।
सो अवसरमा नेपाल धेरै प्रदूषण हुने मुलुकको सूचीमा विश्वको दशौँ नम्बरमा रहेको उल्लेख गर्दै खानेपानीमन्त्री महिन्द्र राय यादवले यसलाई घटाउन सरकार लागिपरेको बताए । गठबन्धनको सरकार पाँच वर्ष टिक्ने र राजनीतिक स्थिरता कायम रहने उनको भनाइ थियो ।
महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताइन् । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले सन् २०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको बताए ।
कार्यक्रममा शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको संयुक्तरूपमा उद्घाटन गरिएको हो ।
कार्यक्रममा खानेपानी आयोजना निर्माणमा सहयोग पुर्याउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटा र समयमा काम सम्पन्न गरेकामा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान गरिएको थियो ।