काठमाडौं । नेपाल आयल निमगले आइतबार प्रेस विज्ञप्ति प्रकाशन गरी राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य घटाएको घोषणा ग-यो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको कारण निगमले पनि सोहीअनुसार मूल्य समायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयल निगमका अनुसार सोमबारको बजारमा घटेको मूल्यअनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेभएको छ । निगमका अनुसार काठमाडौं उपत्यकामा डिजेल/मट्टीतेलको प्रतिलिटर मूल्य एक सय ६८ रुपैयाँमा कारोबार हुनेभएको छ भने पेट्रोल प्रतिलिटर एक सय ७२ रुपैयाँमा मात्र खरिद गर्न सकिनेछ ।
पेट्रोलमा एकै पटक ११ रुपैयाँ घट्दा पेट्रोलबाट चल्ने गाडीधनीलाई राहत मिलेको छ भने डिजेलको मूल्य पाँच रुपैयाँ मात्र घट्दा डिजेलको निजी गाडीधनी मात्र होइन आम सर्वसाधारणलाई पनि मूल्य घटेको लाभ खासै हुने छैन ।
नेपालमा चल्ने अधिकांश यात्रुबाहक र मालबाहक गाडी डिजेलबाट सञ्चालित छन् । तर, प्रतिलिटर पाँच रुपैयाँ मात्र मूल्य घटेका कारण गाडीभाडा खासै घट्ने छैन । त्यही भएर सामान ढुवानी तथा यात्रु ओसारपसारको भाडा उल्लेख्य घट्ने छैन । यो मूल्य घटाइले एउटा निश्चित वर्गलाई मात्र बढी राहत मिलेको छ । नेपालमा विभिन्न उपभोग्य वस्तु (खाद्य/गैरखाद्य)को ढुवानीमा भाडाबापत ठूलो रकम खर्च हुन्छ । त्यसैलाई जोडेर बजारमूल्य निर्धारण हुन्छ । यदि सरकारले चाडपर्वको बेला जनतालाई वास्तविक राहत दिने हो भने पेट्रोलको साथै डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाउनु पर्दथ्यो । चाडवर्पको बेला विशेष व्यवस्था गरेर मूल्य घटाउने हो भने खपत बढी हुन्छ र राज्यले घटाएको मूल्यको क्षतिपूर्ति उपभोक्ताले गरेको बढी खपतबाट उठ्न सक्छ ।
रातिबाट लागू भएको नयाँ मूल्यले नेपाली बजारमा डिजेल र पेट्रोलको मूल्यअन्तर अत्यन्त कम गराएको छ । अर्थात् दुवैको मूल्य करिब करिब एउटैजस्तो देखिएको छ । यो नयाँ मूल्यले डिजेल उपभोक्तालाई भन्दा पनि पेट्रोल उपभोक्तालाई बढी राहत मिलेको छ । देशभर नै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ मात्र फरक पर्न गएको छ ।
निगमको मूल्यसूचीअनुसार पहिलो वर्गको स्थानहरू झापाको चारआली, विराटनगर, जनकपुर, बाराको अमलेखगञ्ज, रुपन्देहीको भलवारी, धनगढी र वीरगञ्जजस्ता भारतीय सीमानाको सहरमा डिजेल प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसामा पाइन्छ भने पेट्रोल एक सय ६९ रुपैयाँ ५० पैसामा पाइन्छ । त्यस्तै, दोस्रो वर्गको स्थानहरू सुर्खेत र दाङमा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ६७ रुपैयाँमा र पेट्रोल एक सय ७१ रुपैयाँमा पाइन्छ । तेस्रो वर्गका स्थानको रुपमा रहेको काठमाडौं, पोखरा र दिपायलमा डिजेल÷मट्टीतेल प्रतिलिटर एक सय ६८ रुपैयाँ र पेट्रोल एक सय ७२ रुपैयाँमा पाइन्छ । ती पहिलो, दोस्रो र तेस्रो स्थानको आसपासका जिल्लाहरूमा भने ढुवानी खर्च जोडेर त्योभन्दा महँगो मूल्य तिरेर मात्र डिजेल÷मट्टीतेल र पेट्रोल खरिद गर्नुपर्ने हुन्छ ।
‘आम उपभोक्तालाई राहत दिने हो भने भाडाका गाडीमा प्रयोग हुनेभएको कारण डिजेलको मूल्य र पेट्रोलको मूल्यको अन्तर धेरै हुनुपर्दथ्यो’, एक उपभोक्तावादी अभियन्ताले भने, ‘पेट्रोल प्रयोगकर्तालाई मात्र राहत दिनु भनेको सानो वर्गलाई संरक्षण गर्नु हो । यदि आम नेपालीलाई राहत दिने हो भने डिजेलको मूल्य धेरै कम गर्नुपर्दथ्यो ।’