महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २९
सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ५ को नयाँ बस्ती टोल सुधार समितिले लकडाउनका कारण समस्यामा परेका आफ्ना टोलबासीलाई खाद्यान्न वितरणका साथमा घर भाडा छुट दिने भएको छ । टोल सुधार समितिको निर्णयअनुसार समस्यामा परेका १६ घरधुरीलाई राहतस्वरूप खाद्यान्न वितरणका साथमा घर भाडा छुट दिइएको नयाँ बस्ती टोल सुधार समितिका सचिव लालकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार टोलमा बस्ने १६ परिवारलाई हाललाई टोलबासीको निर्णयअनुसार एक महिनाको घर भाडा छुट गरिएको छ भने राहत स्वरूप एक बोरा चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल, तीन थान साबुन तथा एक बट्टा चिया वितरण गरिएको छ । विपत्को समयमा सानो भए पनि सहयोग पुगोस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ । टोल बासीहरूले नै संकलन गरेको रकमवाट राहत वितरण गरिएको सचिव श्रेष्ठले बताए । उनका अनुसार लकडाउनको अवस्था हेरी घरभाडा छुटको समयावधि बढ्न र पुनः राहत पनि वितरण गरिनेछ ।
हाल १६ घरले भाडा छुट दिएको भए पनि अरु घरधनी पनि भाडा छुट दिनेमा सामेल हुन सक्ने बताइएको छ । लकडाउनका कारण समस्यामा परेकाहरूलाई सरकारी तथा निजी क्षेत्रवाट राहत वितरण गरिएको भए पनि टोल बासी मिलेर आफ्नै टोलका लागि राहत वितरण गरिएको र घरभाडा छुट दिइएको यो सोलुखुम्बुमा पहिलो हो । संकटका बेला नयाँ बस्ती टोल सुधार समितिले गरेको यस कार्यले कोठामा बस्नेहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरिएको छ । यसबाट अरुले पनि पाठ सिकेर कोठामा बस्नेहरूलाई राहत दिउन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । राहत वितरण सबैले गरेको भए पनि आफूहरूले भाडा छुटसमेत दिने निर्णय नयाँ भएको सचिव श्रेष्ठको भनाइ छ ।