महेन्द्रनगर (धनुषा) । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सेवा प्रवाहबारे जानकारी लिएका छन् ।
सेवाग्राहीसँग प्रत्यक्ष भेटेर प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उनले जानकारी लिएको हो । एउटा मात्र काउन्टर (लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।
प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथै सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।