काठमाडौं, वैशाख २९
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुई जना बिरामी आइतबार निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । यसअघि केन्द्रबाट गत सङ्क्रमितहरू वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरूको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पीसीआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारदेखि आइतबार दिउँसोसम्मका परीक्षणमा कुनै पनि थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन पीसीआर परीक्षणको दायरालाई बढाउँदै लगिएको छ ।
मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पीसीआर परीक्षण १६ हजार ८९८ र आरडीटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस सङ्क्रमित ११० जना रहेका छन् । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् ।