काठमाडौं । मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब ५० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार संवेदनशील रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो ५० करोड रुपैयाँ मुस्ताङलाई नै हामी दिँदै छौं ।’ जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै उनले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको बताए ।
जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा आयोजित खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असरबारे विश्वको ध्यानाकर्षण गराएको जानकारी गराए ।
उनले भने, ‘यदि हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिने हो र ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित नगर्ने हो भने ठूलो मानवीय र प्राकृतिक क्षतिको स्थिति विश्वले नै सामना गर्नुपर्छ भन्ने कुरा गम्भीररुपले राखिएको छ ।’ जलवायु परिवर्तनसँग सम्बन्धित कोप–२८ सम्मेलनमा पनि सहभागी हुन लागेकाले सो सम्मेलनमा पनि आफूले जलवायु परिवर्तनबारे फेरि विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीले बताए ।