धुलिखेल (काभ्रेपलाञ्चोक) । बुधबार बिहान सवारी दुर्घटना हुँदा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा एक जनाको मुत्यु भएको छ ।
मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडी सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।
श्रेष्ठका अनुसार गाडीमा सवार आठ जना दुर्घटनामापरि घाइते भएका छन् । घाइते भएका सबैको अवस्था सामान्य रहेको छ र अहिले उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।