काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका छन् । स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।
बुधबार दिउसोदेखि नै असहज भइरहेको श्रेष्ठलाई बेलुका धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । स्वकीय सचिव श्रेष्ठले अस्पतालमा एन्जियोग्राम गरेर हेर्दा गृहमन्त्रीको मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको बताए । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ र अहिले उनी खतरामुक्त छन् ।