काठमाडौं । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराएका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् ।
मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएको दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए । उनले भने, ‘हामीलाई २० वटा सिटको व्यवस्था भएको थियो । सबैलाई सूचना गर्दा पनि १८ जना मात्रै जान तयार हुनुभयो । हामीलाई छिमेकी मुलुक भारतको उद्धार विमानमा दिइएको सिट पनि भर्न सकेनौं ।
पहिलो चरणको उद्धारमा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको थियो । पहिलो चरणमा नेपाल फर्किने सबै विद्यार्थी थिए भने पछिल्लो चरणमा श्रमका लागि गएकाहरू बढी छन् । दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ ।
हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् ।