काठमाडौं । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन् । स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बसेका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमारेको गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताइन् ।
जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्न समेत नखाई निराहार व्रत बसेका उनले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताए । सापकोटाले यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको बताए । उनले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गरेका छन् ।
दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।