काठमाडौं । सशस्त्र प्रहरीले बर्दीको आवरणमा व्यापार गरेर ठगी धन्दा सञ्चालन गरेको भेटिएको छ । सशस्त्र प्रहरीको मुख्य काम दंगा नियन्त्रणको साथै सीमा सुरक्षा प्रदान गर्नु भए पनि पहुँचका आधारमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएको छ । त्यही व्यापारमा उसले नापतौल घटाएर गम्भीर अपराध गरेको फेला परेको हो ।
नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नाप तौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारीलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले मंगलबार र बुधबार पम्पहरूको अनुगमन गर्दा आम उपभोक्ता ठगिएको पत्ता लागेको हो ।
सशस्त्र प्रहरीको पेट्रोलपम्पले नै दिनहुँ व्यापारको नाममा ठगी धन्दा सञ्चालन गरेपछि अनुगमनमा गएको टोली नै आश्चर्यचकित भएको छ । सशस्त्रको उच्च नेतृत्वको संलग्नतामा उक्त ठगी धन्दा निर्बाधरूपमा सञ्चालन भइरहेको हो । धेरै उपभोक्ताले सशस्त्रको पम्पमा ठगी हुँदैन भन्ने विश्वासले तेल भर्ने गरेकामा त्यही विश्वासलाई घात गर्ने काम सशस्त्रले गरेको हो । त्यो पनि सशस्त्रको मुख्यालय भएको हल्चोककै पेट्रोल पम्पले ।
पेट्रोल पम्पहरूले कम तेल दिएर उपभोक्ता ठगी गरेको पटक–पटक उजुरी र गुनासो आयल निगम र नापतौल विभागमा परे पनि बेवास्ता गर्दै बसेका थिए । जब प्रधानमन्त्री कार्यालयले नै ठगी जाँच गर्न स्थलगत अनुगमन अगाडि बढायो त्यसपछि पम्पहरूको ठगी धन्दा मंगलबार र बुधबार सार्वजनिक भएका हुन् ।
अनुगमन टोलीले मंगलबार काठमाडौंका तीनकुने गैरीगाउँको भ्याली बाबा सप्लायर्स नामको पेट्रोल पम्पममा अनुगमन गर्दा परिमाण घटाएर पेट्रोलियम पदार्थ बिक्री गरेको पुष्टि भएपछि सिलबन्दी गरेको थियो । बुधबार हल्चोकस्थित सशस्त्र प्रहरीको हल्चोक फ्यूल सेन्टरमा त्यस्तै गरी परिमाण घटाएर डिजेलमा उपभोक्ता ठगी गरेको पुष्टि भएको हो । बुधबार नै उक्त केन्द्रीय अनुगमन टोलीले कलंकीको श्यामा पेट्रोल पम्पमा गरेको अनुगमनमा पनि परिमाण घटाएर बिक्री गरेर उपभोक्ता ठगी गरेको पुष्टि भएको छ । ती पम्पले ८० हजार लिटर पेट्रोल बिक्री गर्दा ८० लिटरभन्दा बढी ठगी गरेका छन् ।
अझ सशस्त्रको पम्पले त २० हजार लिटर डिजेल बिक्री गर्दा एक सय लिटर डिजेल ठगी गर्नेगरेको भेटिएको छ । अन्य पम्पको तुलनामा सशस्त्रको पम्पको ठगी अझै ठूलो देखिएपछि प्रधानमन्त्री कार्यालयका अधिकारीहरू नै चकित भएका छन् ।
अनुगमनमा गएका एक अधिकारीले भने, ‘सशस्त्रको ठगी धन्दा सहनै नसक्ने किसिमको छ । २० हजार लिटर डिजेल बिक्री गर्दा एक सय लिटर ठगी गर्नु सामान्य कुरा होइन । बर्दीको नाममा यस्तो लुट धन्दा चलाउनु निर्दोष जनतालाई छातीमा गोली ठोक्नुभन्दा पनि बढी घातक हो ।’