काठमाडौं । मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्नुपर्ने निष्कर्ष निकालिएको मेलम्ची खानेपानी विकास समितिका निर्देशक राजेन्द्र पन्तले जानकारी गराएका छन् ।
मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउनका लागि स्थायी हेडवर्क्स बनाउनु पर्ने हुँदा त्यसका लागि ७ सय मिटर माथि नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष अध्ययन प्रतिवेदनको रहेको पन्तले बताए । मेलम्चीमा पहिरो गएपछि एडीबीले दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ ।
२०७८ साल असार १ मा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) तहसनहस भयो । त्यसयता सरकारले हरेक वर्ष अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा काठमाडौंमा पानी वितरण गरिरहेको छ । यस वर्ष पनि बाढीले मुहान पुरेको छ । हरेक वर्ष पटके रुपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।