काठमाडौं । एभरेष्ट बैंक लि.ले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका छन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज, सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज, सुर्खेतको तर्फबाट ब्लि·नाव फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा ब्लि·नाव फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रञ्जितको समेत उपस्थिति रहेको थियो । बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २७ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउण्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एवं एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । यस बैंकले सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आईरहेको छ ।