कोलम्बो । एक दशकमा श्रीलंकाको सहरी जनसंख्या २६ दशमलव ३७ प्रतिशत विन्दुले बढेको छ । राष्ट्रिय भौतिक योजना विभागको एक सर्वेक्षणअनुसार कुल जनसंख्याको ४४ दशमलव ५७ प्रतिशत सहरमा बसोबास गर्छन् ।
यसअघि सन् २०१२मा गरिएको सहरीकरणसम्बन्धी सर्वेक्षणमा १८ दशमलव २ प्रतिशत जनसंख्या सहरमा बसोबास गरेको उल्लेख थियो ।
पछिल्लो सर्वेक्षणअनुसार कोलम्बो सबैभन्दा बढी सहरी जनसंख्या भएको जिल्ला हो । यो जिल्लाको कुल जनसंख्यामध्ये ९६ दशमलव ७४ प्रतिशत सहरमा बस्छन् । यस्तै गाम्पाहा जिल्लामा ७६ दशमलव ७६ प्रतिशत र जाफना जिल्लामा ६७ दशमलव २८ प्रतिशत मानिसहरु सहरमा बस्छन् ।
सर्वेक्षणअनुसार शहरी जनसंख्याको सबैभन्दा कम प्रतिशत मुल्लाइतिवु जिल्लामा दुई दशमलव ८४ प्रतिशत छ । सर्वेक्षण प्रतिवेदनले सबै जिल्ला समितिबाट स्वीकृत भएपछि राष्ट्रपति र मन्त्रिपरिषद्मा पेश हुनेछ र अनुमोदन भएपछि मात्रै आधिकारिकता पाउने छ । एजेन्सी