तुलसीपुर (दाङ) । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए ।
रु. एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको जानकारी दिए । उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ ।
यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको उनले बताएका छन् । हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् । प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए ।