काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले सञ्चालनमा ल्याएको अनलाइनमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। यसअघि अनलाइन फर्म घर फर्किन चाहनेहरूको लागि मात्र खुला गरिएको थियो । तर, अब इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो विवरण दूतावासको अनलाइन प्रणालीमार्फत भर्न भनेको छ।
इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो। दूतावासले सबै नेपालीलाई भोलिको दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर आफ्नो अवस्थाबारे जानकारी गराउन भनेको छ। गाजास्थित हमास समूहले इजरायलको सीमा क्षेत्रका गाउँहरूमा अक्टोबर ७ तारिखका दिन एकाबिहानै आक्रमण गरेको थियो। त्यसयता इजरायलले हमास समूहमाथि निरन्तर आक्रमण गर्दै आएको छ। हाल दूतावासले इजरायलको दक्षिणी क्षेत्रसँगै उत्तरी लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार भइरहेको जनाएको छ।