काठमाडौं, वैशाख ३०
सरकारले विदेशमा मृत्यु भएका नागरिकको शव सम्बन्धित मुलुकमै दाहसंस्कार गर्ने तयारी गरेको छ । सोसँगै सरकारले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव सम्बन्धित मुलुकमा नै दाहसंस्कार गर्नको लागि कामदारको नजिकको हकदारसँग अनुमति माग गरेको छ । यता वैदेशिक रोजगारीमा गई विदेशमा मृत्यु भएकाका आफन्तहरु भने शव आउने प्रतीक्षामा बसेका छन् ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक नागरिकको सम्बन्धित मुलुकमा नै दाहसंस्कार गरेमा कामदारको नजिकको हकदारलाई सान्त्वना राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको बताए । बैठकले कोरोनाभाइरस (कोभिड १९) का कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा शव स्वदेश ल्याउन समस्या भएको बताँउदै सो निर्णय गरेको बोर्डले जनाएको छ भने अन्तर्राष्ट्रिय उडान सुचारु भए पछि मृत्यु हुनेको हकमा भने सो नियम लागू नहुने समेत स्पष्ट पारेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ७१ जना युवाको विदेशमा मृत्यु भएको छ । खाडी, दक्षिण कोरिया लगायत आठ मुलुकमा पुगेको युवाको मृत्यु विदेशमा भएसँगै शव ल्याउन समस्या भएको बोर्डले बताउँदै आएको छ भने अर्कातर्फ मृतकका आफन्तहरु भने शव आउने प्रतीक्षामा बाटो हेर्दै बसेका छन् ।यसैबीच सरकारले कोरोनाभाइरसको कारण उडान बन्द हुँदा सम्बन्धित मुलुकमा दाहसंस्कार गर्ने अनुमति प्रदान गरेमा नगद प्रदान गर्ने योजना अघि सारेको हो ।
यस्तो विषम परिस्थिति कहिलेसम्म रहने निश्चित नभएको र मृतक कामदारको परिवारले लामो अवधिसम्म शव नेपाल ल्याउने प्रतीक्षा गर्नुपर्दा थप पिडामा बस्नु पर्ने बाध्यताप्रति बोर्ड विशेष सम्वेदनशील रहेको बताएको छ । साथै कोरोनाभाइरसका कारण मृत्यु हुने कामदारको शव सम्बन्धित मुलुकमै तत्काल अन्त्येष्टि गर्नुपर्ने बाध्यता समेत रहेको छ । यस अवस्थामा मृतक कामदारको शव सम्बन्धित मुलुकमा नै अन्तिम संस्कारका लागि नजिकको हकदारका तर्फबाट सहमतिपत्र(एफएल) सम्वन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पठाउनका लागि बोर्डले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । कोरोनाअघि पनि सरकारले विदेशमा मृत्यु भएका नेपालीहरुको शव समयमा आफन्तजन वा हकवालालाई समयमा उपलब्ध गराउनसकेको थिएन ।