बागलुङ । मानव सेवा आश्रमको आठौँ शाखाको भवन निर्माण भएको छ । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन हाल निर्माणको अन्तिम चरणमा रहेको हो ।
युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका–३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ । साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं ४ स्थित निरयघाटमा तीनवटा ब्लकको भवन निर्माण भइरहेकोे छ । अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ ।
नगरपालिकाको पहलमा पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् । भवन निर्माणसहित डीपीआर अनुसारको संरचना तयार गर्न १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिए पनि अहिले मुख्य तीनवटा ब्लक भने अन्तिम अवस्थामा पुगेका छन् ।
तीन वर्षमा भवन निर्माण गर्न हालसम्म तीन करोड २५ लाख खर्च भइसकेको आश्रमका अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले एक करोड ५० लाखका साथै सामाजिक विकास कार्यालयबाट ५० लाख, रघुगङ्गा गाउँपालिकाबाट पाँच लाख, गलकोट नगरपालिकाबाट चार लाख, ताराखोला गाउँपालिकाबाट १० लाख, बागलुङ नगरपालिकाबाट सात लाख, बरेङ गाउँपालिकाबाट छ लाख, बडिगाड गाउँपालिकाबाट १० लाख, बेनी नगरपालिकाबाट चार लाख र कालिका मन्दिरबाट १० लाख गरी एक करोड छ लाख सहयोग भएको हो ।
‘सुविधा सम्पन्न भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसहित स्थानीय पालिकाको सहयोग छ’, उनले भने, ‘अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।’ आश्रमले अहिले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ । आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताए ।
भवनको ‘ए’ ‘बी’ र ‘सि’ ब्लक भवनको तीन तला ढलान भएर अहिले ईंटाको पर्खाल लगाउने कार्य भइरहेको छ । आश्रममा हाल व्यक्तिगतरूपमा समेत छ लाख ४८ हजार चार सय ८६ सङकलन भएको छ । आश्रममा धौलागिरिमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्धार गरी उपचार गरेर राखेको सो आश्रमले स्थापनाकालदेखि एक सय ५२ जनाको उद्दार, २८ जनाको पुनर्मिलन गराइसकेको छ । आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मीसहित पाँच कर्मचारी छन् ।
आश्रम साँघुरो हुँदा केही सहयोगीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउदै संयोजक तामाङले आफ्नै भवन निर्माण भएमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाई समेत सडक मानवमुक्त बनाइने जानकारी दिए । स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको सो आश्रममा एक आश्रितका लागि मासिक १५ हजार खर्च लागेपनि हालसम्म मुठ्ठीदानबाटै सेवा सञ्चालन हुँदै आइरहेको छ । आश्रमका लागि जन्मोत्सव, पितृकार्य र अन्य शुभकार्यमा सङ्कलित रकमले पनि टेवा दिँदै आएको छ ।