काठमाडौं, वैशाख ३०
नेपालमा सोमबार एकै दिन २४ जना कोरोना संक्रमित फेला परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना सोमबार साँझ संक्रमित भएको पुष्टि भएको हो । स्थानीय प्रशासनले कपिलवस्तु जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ । सोमबार बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रेडजोनमा ३४२ रहेका छन् ।
यस्तै, सोमबार बिहान सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार बिहान नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा सङ्क्रमण देखिएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको जनाएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पीसीआर परीक्षण १७ हजार ८ सय ९ र आरडीटी ५८ हजार ५ सय ४६ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा सोमबार आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले आरडीटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको जानकारी दिए । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा १५३ जना रहेका छन् ।