न्युयोर्क, वैशाख ३०
अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व पर्यटन संगठन (युएनडब्लुटीओ)ले कोरोनाभाइरसको संक्रमण फैलिएकाले पर्यटकहरुको संख्यामा कमी आउने जनाएको हो । यस वर्षको पहिलो चौमासिकमै पर्यटकको संख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ । विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।
यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य (एसडीजि)लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ । कोरोनाभाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक संकट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । ‘रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी संकटमा परेको छ’, युएनडब्लुटीओका महासचिव जुराब पोलोलिकाश्भीलीले भने । कोरोनाभाइरसको संक्रमणको डरले अधिकांश देशहरुले आवतजावतलाई बन्द गरेका छन् भने अधिकांश देशका नाका र हवाइ सेवा पनि बन्द रहेका छन् ।
यसले अन्तर्देशीय पर्यटनलाई अत्यधिक धेरै असर पारेको छ भने आन्तरिक पर्यटनलाई कम असर पारेको छ । कोरोनाभाइरसबाट सवैभन्दा धेरै एशिया प्रशान्त क्षेत्रमा र युरोपलगायतका देशहरुमा प्रभाव धेरै परेको देखिएको छ । कोरोनाभाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले पनि ठूलो क्षति भोग्नु परेको छ । यो वर्षको बाँकी समयमा कति क्षति हुन्छ भन्ने कुरा कोरोनाभाइरसको संक्रमण कति फैलिन्छ र कति देशहरुले कहिलेसम्म लकडाउन र सिमाना तथा उडान सेवा कहिलेसम्म बन्द गर्छन् भन्ने कुरामा निर्भर रहने पनि संगठनले जनाएको छ ।