हुम्ला । नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् ।
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकतालगायत अन्य प्रशासनिक काममा समेत बाधा पुगेको छ । इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताए । कार्यालय बन्द हुँदा नागरिकले भदौ महिनादेखि नागरिकता बनाउन समेत नपाएको अध्यक्ष थापाले बताए । नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनको भनाइ थियो ।
कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गरे । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो । जैर गाउँबाट झन्डै तीन घण्टा हिँडेर सर्केगाड आइपुगेको भए पनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदा सास्ती खेप्नुपरेको रावतले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । महिना दिन बित्दासमेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उनले बताए ।
गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका–४ की सपना थापाले बताइन् ।