काठमाडौं, वैशाख ३०
नेपाललाई चीन सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनले नेपाललाई ४० हजार पीसीआर टेस्ट किट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पीपीई सेट १० हजार थान उपलब्ध गराएको हो ।
उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई सोमबार आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी हुन् । यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेभन्दा अलि फरक नीति अवलम्बन गरेको बताए ।
मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अवलम्बन गरिएको जानकारी दिए । उनले भने, ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ ।’ मन्त्री ढकालले मानवीय क्षतिविना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको उल्लेख गरे । स्वास्थ्य सामग्री र अनुभव दुवैको अभावका बीचमा पनि राम्रो प्रयास भइरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गरे ।
उनले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाई विश्वका जुन–जुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बताए । उनले चीनका तर्फबाट विभिन्न मोडलमा भइरहेको चिकित्सकीय छलफल र अन्तर्क्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए ।
मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए । उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताए । यसैगरी नेपालका लागि चिनयाँ राजदूत हौ याञ्छीले कोरोना भाइरसँग लड्न नेपाललाइ सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाइन् । केही दिनअघि स्विस सरकारले पनि नेपाललाई ३० हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो ।