काठमाडौं, वैशाख ३०
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ । फाइनान्सले कोरोना भाइरसको रोमथाम तथा नियन्त्रणका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरूलाई तत्काल राहत हुनेगरी संस्थाका स्थानीय तहअन्तर्गत रहेका १९ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरूमार्फत स्थानीय तह राहत कोषमा छ लाख ५९ हजार आर्थिक सहयोग गरेको हो ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले समुदायस्तरमा निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास लिएको बताए । यसअघि फाइनान्सले संघीय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रूपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।
नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्णरूपमा पालना गर्दे फाइनान्सले बन्दाबन्दीको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरू खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा एक सय २० शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गरिरहेको छ ।